सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीय गाउँ तथा नगरपालिका र जिल्लासम्बद्ध सङ्घ तथा महासङ्घले कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनसहितका ‘एजेन्डा’मा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को बैठक बस्नुपर्नेलगायत विषयवस्तुलाई समेटेर सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरे सम्मिलित प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई सो ध्यानाकर्षणपत्र बुझाएको हो ।प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक २०८० माघ महिनापछि बस्न नसकेकाले अघिल्लो बैठकमा पेस भई निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने भनी ध्यानाकर्षणपत्रमा माग गरिएको छ ।
यसैगरी, समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आकार वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।सो अवसरमा प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस