२०८१ पुष २५ , बिहिवार

१४ दिनमा ३ राष्ट्रपति !

South-Korea-Parliament

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएको छ । योसँगै उनी पनि पदमुक्त हुने भएका छन् ।

कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको यो पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलले दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ ।

 

गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक-सू कार्यवाहक राष्ट्रपति बनेका थिए ।

महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी थियो। महाअभियोग प्रस्तावमाथि मतदान हुँदा संसदमा ठूलो हंगामा भएको थियो। सत्ता पक्ष र विपक्षको बीचमा धकेलाधकेलको अवस्था बनेको थियो ।

 

सत्तापक्षले मतदान बहिस्कार गरेसँगै कार्यवाहक राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा कुनै मत परेन । अब अर्थमन्त्री चोई सांग-मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा पदभार सम्हाल्नेछन्।

चोई सांगले ३ डिसेम्बरमा मार्शल ल लागु गर्ने तत्कालीन राष्ट्रपतिको निर्णयको खुलेर विरोध गरेका थिए। उनले यसलाई देशको अर्थतन्त्रका लागि विनाशकारी बताएका थिए।