कविशिरोमणि लेखनाथ पौडेलको एक सय ४१औँ जन्मजयन्तीका अवसरमा आज धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।
कविशिरोमणि साहित्य साधना समाजद्वारा आज आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङले कविशिरोमणि पौडेलको शालिकमा माल्यार्पण गर्नुभयो । उहाँले हुकुमी शासनका बेला कवि पौडेलले नेपाली साहित्यको श्रीवृद्धिमा सामाजिक, राजनीति परिवर्तनको सन्देश प्रवाह गरेको बताउनुभयो ।
कवि पौडेलका कविताहरू कालजयी रहेको प्राडा गोपाल भण्डारीको भनाइ छ । सामाजिक र नैतिक मूल्यको सन्दर्भमा उहाँका कविताहरू अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उहाँले उहाँका कवितामा मानव जीवनका विविध पक्षहरू समेटिएको बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उहाँले गर्नुभएको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाइँदै आएको बताउनुभयो । रासस