सुनाखरी न्युज/ काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा उहाँले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । अब बन्ने संरचनाहरुले देशको समृद्धि यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो ।
नेपाल अझै पनि विकास निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरुलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । जनजीविका, राजस्व सङ्कलन, आर्थिक क्रियाकलाप तथा बृहत् जनसङ्ख्या र भूगोललाई प्रत्यक्ष फाइदा पु¥याउने योजनाहरुमा मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्री दाहालले सडक बोर्डअन्तर्गतका रुग्ण ठेक्काहरुको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।त्यसअवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडकसमेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्नेगरी सडक सञ्जाल विस्तार गर्नुपर्ने बताउनुभयो ।
पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभएको थियो भने कार्यक्रममा बोर्डका पूर्वसदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोर्डको गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरिएको थियो । रासस