२०८१ पुष १९ , शुक्रवार

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
 राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज यहाँ आयोजना गरेको श्रम संसद्मा उहाँले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभइ  यससँग मानवीय पक्ष पनि हो भन्नुभयो । आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रुपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गर्नुभयो ।
“निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा समावेश गरिएको उहाँले बताउनुभयो ।
“देशमा सबैभन्दा ठूलो श्रमिकहरूको सङ्ख्या कृषि क्षेत्रमा रहेकाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ”, उहाँले भन्नुभयो ।  राष्ट्रपति पौडेलले  प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएका बताउनुभयो । रासस