सुनाखरी न्युज/ काठमाडौं ।
विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा ग्याल्जे शेर्पालाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी आज काठमाडौं आइपुगेका शेर्पालाई नेपाल पर्वतारोहण संघ, नेपाल नेसनल माउण्टेन गाइड एसोसिएसन, माउण्ट एभरेष्ट समिटर्स क्लब, रोल्वालिङ दोलखा, इमाजिन नेपाल ट्रेक्सले भव्य स्वागत गरेका हुन्।
हालै पुस १३ गतेका दिन शेर्पाले अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरेसँगै सेभेन समिट (सात महाद्वीपका शिखरहरू) चुम्न सफल भई उनी काठमाडौं फर्किएका हुन्।मिङ्मा पूरक अक्सिजन बिना नै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने पहिलो नेपाली बन्न सफल व्यक्ति हुन्।