२०८१ पुष २३ , मंगलबार

बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बिमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताउनुभएको छ ।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताउनुभएको हो । “बिमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्न सरकार लागेको छ”, उहाँले भन्नुभयो । सरकारले बिमाको रकम रु एक लाखबाट बढाएर पाँच लाख पु¥याएको उहाँको भनाइ थियो ।स्थ्यमन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा ग्राण्डी अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउँदै सबै नागरिकको पहुँच पुग्नेगरी स्वास्थ्यसेवा प्रदान गर्न सुझाव दिनुभयो । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा नर्सलाई स्वदेशमै बस्ने वातावरण निर्माणमा नेपालका स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो । उहाँले अस्पतालभित्र कार्यरत चिकित्सक तथा नर्समाथि हिंसा गर्नेलाई फौजदारी अभियोगअन्तर्गत मुद्दा चलाउने व्यवस्था भएकाले कार्यक्षेत्रमा ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको पहिचान ग्राण्डी अस्पतालले दिएको बताउनुभयो । “टोखाभित्र ग्राण्डी अस्पताल भएकामा नगरपालिकाले गौरवको महसुस गरेको छ, टोखालाई राष्ट्रियस्तरसम्म नभई अन्तर्राष्ट्रियस्तरसम्म ग्राण्डीले चिनाएको छ”, उहाँले भन्नुभयो । टोखालाई पहिचान दिन ग्राण्डीले खेलेको भूमिका सराहनीय रहेको उहाँको भनाइ थियो । उहाँले नगरपालिकाको प्रमुख लक्ष्य टोखालाई समुन्नत र समृद्ध बनाउने रहेको बताउँदै सबै मिलेर टोखाको गरिमा बढाउन लाग्नुपर्ने बताउनुभयो ।अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले ग्राण्डीले बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायत समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।

“नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ ग्राण्डी स्थापना भएको हो, सामूहिक रुपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीको हो”, उहाँले भन्नुभयो ।अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले ग्राण्डीले नेपालीको मात्र नभई विदेशीको पनि सफल उपचार गरेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान कायम गर्दै आएको बताउनुभयो । कार्यक्रममा अस्पतालमा १० वर्षदेखि निरन्तर कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।  रासस