सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्नुहुनेभएको छ ।विदेशमन्त्री ब्लिन्केनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक’ प्रबद्र्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्नुहुने बताउनुभएको छ ।अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्रीे ब्लिन्केनले जनवरी ४ देखि ९ सम्म दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्नुहुनेछ ।
विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाली गठबन्धनलाई पुनः पुष्टि गर्न र हाम्रा साझा मूल्यमान्यतामा आधारित विश्वका चुनौतीहरूमा हाम्रा महत्वपूर्ण सहयोगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल गर्न कोरियाली वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ। “संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाका लागि जापानसँग त्रिपक्षीय प्रयासलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पनि विदेशमन्त्रीले छलफल गर्नुहुनेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।“जापानमा विदेशमन्त्री ब्लिन्केनले जापान सरकारका वरिष्ठ अधिकारीसँग अमेरिका–जापान गठबन्धनले पछिल्ला केही वर्षमा हासिल गरेको प्रगतिको समीक्षा गर्नेछन्।
विदेशमन्त्री ब्लिन्केनले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूको एक श्रृङ्खलालाई सम्बोधन गर्न गठबन्धनको महत्वलाई पुनः पुष्टि गर्नुहुनेछ र अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय सहयोगको गतिलाई जारी राख्नुहुनेछ। फ्रान्समा विदेशमन्त्री ब्लिन्केनले युरोप, मध्यपूर्व र त्यसभन्दा बाहिरका चुनौतीहरूको सामना गर्न अमेरिकी साझेदारीको एक भागको रूपमा फ्रान्सका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ।यसैबीच, ब्लिन्केनले शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीसँग पनि कुराकानी गर्नुभएको छ । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “विदेशमन्त्री ब्लिन्केन र उहाँका इजिप्टका समकक्षीले गाजामा बन्धकहरूको रिहाई, मानवीय सहायताको प्रवाह बढाउने र युद्धको अन्त्य गर्ने युद्धविरामका लागि जारी प्रयासको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन्। उनीहरुले सिरियाको अवस्थाबारे पनि थप छलफल गरेका छन्।” रासस/एएनआई