सुनाखरी न्युज/ काठमाडौं ।
कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो ।सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।
सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।