नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
आगामी माघ १२ गतेदेखि हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, पुरुषतर्फ १० किमि दौड, महिलातर्फ पाँच किमि दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि र तीन किमि दौड तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक संस्थाका संयोजक डा सितलकाजी श्रेष्ठले आज यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा हाफ म्याराथनतर्फ विजेता महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले रु ७० हजार, चौथोले रु ५० हजार तथा पाँचौ हुने खेलाडीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । दश किमि दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले रु ४० हजार, तेस्रोले रु ३० हजार, चौथोले रु २० हजार र पाँचौ हुने खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै पाँच किमि दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् ।
तीन किमि दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले रु १५ हजार, तेस्रोले रु १० हजार, चौथोले रु पाँच हजार र पाँचौ स्थान हासिल गर्ने खेलाडीले रु दुई हजार पाँच सय पाउनेछन् ।ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौ हुने खेलाडीले रु पाँच हजार पाउनेछन् । उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए । रासस