२०८१ माघ १ , मंगलबार

नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो ।एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । दुई साता अघि अत्याधिक दुखाई भएपछि नेपाल मेडिकल कलेज आएका नवराजको भिडियो एक्सरे गरेर हेर्दा देब्रे साइटको मिर्गौलामा पत्थरी देखिएको थियो ।त्यसपछि सिटी स्क्यान गरेर हेर्दा नवराजको देब्रे भागको मिर्गौला पूर्णरुपमा बिग्रिसकेको पाइएको युरोलोजी विभागका कन्सल्टेन्ट यूरोसर्जन डा. वेश अन्सारीले बताउनु भयो । ‘सुरुमा एक्सरे गरेर हेर्दा किड्नीमा पत्थरी देखिएको थियो । पछि सिटी स्क्यान गरेपछि मात्र देब्रे भागको किड्नी पूर्णरुपमा बिग्रिसकेको थाहा पायौँ ।’

कन्सल्टेन्ट यूरोसर्जन डा. अन्सारीले भन्नुभयो ।मिर्गौला पूर्णरुपमा कामै नलाग्ने भइसकेको पाइएपछि डा. अन्सारीकै नेतृत्वमा ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरी मिर्गौला निकालिएको थियो । बिरामी दाहाल अप्रेसन भएको तेश्रो दिन नै आफैं हिँडडुल गर्न सक्षम भई अस्पतालबाट डिस्चार्ज भएर जानु भएको थियो । अस्पतालले तत्कालै रोगको पहिचान गरी अप्रेसन समेत गरिदिएपछि बिरामी नवराजले राहतको सास फेरेका छन् । ‘पत्थरीकै कारण मिर्गौला नै बिग्रिएछ । डाक्टर सावले तत्कालै अप्रेसन गर्न सल्लाह दिनुभयो । दुरबिनबाट अप्रेसन गर्ने भनेर सबै बुझाउनु भयो । उपचारमा संलग्न सम्पूर्ण डाक्टर, नर्सहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ बिरामी नवराजकी श्रीमती गीता त्रिपाठी दाहालले बताउनु भयो ।ल्याप्रोस्कोपी विधिबाट विभिन्न प्रकारका अप्रेसनहरू भइरहेपनि मिर्गौला नै निकालिएको कलेजको इतिहासमा सम्भवतः पहिलोपटक हो । कलेजले पछिल्लो समय विभिन्न प्रकारका अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधिलाई प्राथमिकताका साथ अवलम्बन गर्दा धेरै बिरामीहरूले राहत पाएका छन् ।

सर्जरीका हरेक विभागहरुले ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसनहरू गरिरहेका छन् ।ल्याप्रोस्कोपी प्रविधिकाे अप्रेसन परम्परागत चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी हुने गर्दछ । यस विधिबाट अप्रेसन गर्दा शरीरमा ठूलो घाउ बनाउन नपर्ने भएकाले अप्रेसन पछि बिरामी छिट्टै रिकभर हुन्छन् । ‘ल्याप्रोस्कोपी अप्रेसन चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी छ । शरीरमा स–साना प्वालहरू पारेर अप्रेसन गरिन्छ । ठुल्ठूलो घाउ पार्नु पर्दैन, रक्तश्राव कम हुन्छ, लामो समय अस्पतालमा बस्नु पर्दैन, इन्फेक्सन हुने चान्स रहँदैन । लामो समय पेनकिलर सेवन गर्नु पर्दैन ।’ डा. अन्सारीको दावी छ ।डा. अन्सारीका अनुसार जन्मजातै भएका किड्नीका रोगहरु, पत्थरी, ट्युमर, घातक क्यान्सरहरु, पाइलोप्लास्टी, चोटपटक लागेर किड्नीमा समस्या भएकाहरुलाई ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गर्न सकिन्छ । त्यस्तै, पेट तथा आन्द्राको समस्या, मुत्रासयको समस्या, पाठेघरको अप्रेसन लगायत धेरै अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधि प्रयोग हुन्छ ।