सुनाखरी न्युज/ काठमाडौं ।
हिजो अस्तिको तुलनामा काठमाडौंमा बिहीबार बिहान बढी चिसो महशुस भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेका कारण हिजो अस्तिभन्दा बढी चिसो महशुस भएको हो।
आज दिनभरि काठमाडौंको मौसम सफा हुने र दिउँसो घाम लाग्ने पूर्वानुमान छ। बिहीबार काठमाडौंमा अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।
मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनत तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।
यो बुधबारको तुलनामा लगभग दुई डिग्री सेल्सियस कम हो। बुधबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो।
रातिको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम केही घटेको मौसमविद् कँडेल बताउँछिन्।
‘चिसो हुने सिजन नै हो। रातिको समयमा आकाशमा बादल कम हुँदा बिहान न्यूनतम तापक्रम केही घट्छ। बादल बढी भएका बेला चिसो कम महशुस हुन्छ,’ मौसमविद् कँडेलले भनिन्।