२०८१ पुष २५ , बिहिवार

रविसहित सातै जनालाई अदालत लगियो,आजै आदेश आउनसक्ने

Rabi Pokhara

सुनाखरी न्युज/ काठमाडौं ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज सरकारी वकिलको तर्फबाट आज जवाफी बहस हुने भएको छ । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो ।

थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने अदालत स्रोतको भनाइ छ ।

बहस अन्तिम चरणमा पुगेर फैसलाको मिति नजिकिएसँगै बुधबारबाटै शहीदचोक, जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । आज पनि सुरक्षा व्यवस्थालाई कडा पारिने र सरकारी कामका लागि हो भने कागजात देखाएरमात्रै प्रवेश दिइने प्रशासनले जनाएको छ ।

लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।उनीहरु ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको हो ।