सुनाखरी न्युज/ काठमाडौं ।
बैंक खाता खोल्दा माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ।’
साथै, २०८१ माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था समेत गरेको थियो।
पदमा बहाल रहेका, पदमा बहाल नरहेका, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिलाई यो नियम लाग्ने भएको छ।
तर, सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्न सक्ने व्यवस्था गरेको छ।
त्यस्तै अब बैंकहरूले ग्राहक पहिचान राख्दा ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण सोही व्यक्तिकै रहेरनरहेको सुनिश्चित गर्न पनि बैंकहरूलाई निर्देशन दिइएको छ।