२०८१ पुष २८ , आइतवार

मलाला युसुफजाईद्वारा तालिबानलाई ‘वैधता’ नदिन मुस्लिम नेताहरूसँग आग्रह

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौँ।

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले आइतबार मुस्लिम नेताहरूसमक्ष अफगान तालिबान सरकारलाई ‘वैधता’ नदिन र महिला तथा बालिकाको शिक्षामाथिको प्रतिबन्धको विरोध गर्दै ‘वास्तविक नेतृत्व’ देखाउन आग्रह गर्नुभएको छ ।

“उनीहरूलाई वैधता नदिनुहोस्”, पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षासम्बन्धी शिखर सम्मेलनमा शिक्षा अधिकारीहरूलाई सम्बोधन गर्दै २७ वर्षीया युसुफजाईले भन्नुभयो, “मुस्लिम नेताहरूका रूपमा अब आफ्नो आवाज उठाउने र आफ्नो शक्ति प्रयोग गर्ने समय हो । तपाईंहरूले वास्तविक नेतृत्व देखाउन सक्नुहुन्छ ।”

पाकिस्तानका शिक्षामन्त्री खालिद मकबुल सिद्दिकीले शनिबार एएफपीलाई बताए अनुसार निमन्त्रणा गरिए पनि अफगान तालिबान सरकारका प्रतिनिधिहरू दुई दिने कार्यक्रममा उपस्थित भएनन् ।“सरल भाषामा भन्नुपर्दा तालिबानले महिलाहरूलाई मानव प्राणीका रूपमा हेर्दैन”, युसुफजाईले सम्मेलनमा भन्नुभयो, “उनीहरूले आफ्नो अपराधलाई सांस्कृतिक र धार्मिक औचित्यमा लुकाउँछन् ।”महिला शिक्षा अधिकारका लागि अभियान चलाउँदै गर्दा सन् २०१२ मा १५ वर्षीया स्कुलकी छात्रा हुँदा पाकिस्तानी तालिबानले युसुफजाईको अनुहारमा गोली हानेका थिए ।  रासस/एएफपी