२०८१ पुष २९ , सोमवार

दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी सम्मेलन सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाको तेस्रो वार्षिक सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन (डब्लुटीओ) र काठमाडौं विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको हो । सम्मेलनको समापन कार्यक्रममा विभिन्न २१ जना शोधपत्र प्रस्तुतीकर्ताहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै उत्कृष्ट शोधपत्र प्रस्तुत गर्नेहरुलाई विशेष सम्मान गरिएको थियो ।काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको यस सम्मेलनमा २१ वटा शोधपत्र प्रस्तुत गरिएका थिए । तीमध्ये ‘जलवायु परिवर्तनका कारण नेपालीको आयस्रोतमा आएको कमी’ शीर्षकको शोधपत्र प्रस्तुत गरेका सुशान्त रिजालले बेस्ट पेपरको अवार्ड जित्न सफल भए ।

यसका साथै ‘नेपालको व्यापारमा डिजिटाइजेसन’ विषयमा रिया रेग्मी र दिपेश कार्कीले तयार पारेको शोधपत्रले रनरअप अवार्ड प्राप्त गरेको छ ।सम्मेलनको समापन समारोहमा काठमाडौं विश्वविद्यालयका रजिष्टार डा. अच्युत वाग्लेले सहभागी सम्पूर्ण शोधपत्र प्रस्तुतीकर्ताहरुलाई धन्यवाद व्यक्त गरे । उनले शोधपत्रहरु सबै उत्कृष्ट भए पनि केहीलाई मात्र छनोट गर्नुपरेको उल्लेख गर्दै अनुसन्धानका क्षेत्रमा सबैका योगदानलाई सराहना गरे । उनका अनुसार सम्मेलनअघि ४२ वटा शोधपत्रहरु पेश गरिएका थिए, जसलाई सर्टलिस्ट गरी २१ वटा शोधपत्रहरुलाई मात्र प्रस्तुतिका लागि छनोट गरिएको थियो ।डा. वाग्लेले शोधपत्रहरुको छनोटका लागि छ वटा मापदण्ड तोकिएको जानकारी दिए । ती मापदण्डमा सम्मेलनको थिमप्रति अनुसन्धानको मेल, प्राज्ञिक तर्कमा योगदान, अनुसन्धानको विधि, डेटा विश्लेषणको गुणस्तर, समाधानका सम्भावना र अनुसन्धानको प्रभावशीलता समावेश थिए ।

सम्मेलनमा भारतस्थित सेन्टर फर ट्रेड एण्ड इन्भेस्टमेन्ट ल का एसिस्टेन्ट प्रोफेसर सात्विक सेखरले नेपालजस्तो विकासोन्मुख देशका लागि व्यापार कानुन र प्राज्ञिक ज्ञानबीचको पुल निर्माण गर्न यस्तो प्रकारका सम्मेलनहरु अपरिहार्य हुने बताए । उनले जलवायु परिवर्तन र व्यापारका क्षेत्रमा भइरहेको अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनामा सकारात्मक प्रभाव पार्न सक्ने धारणा व्यक्त गरे । सम्मेलनमा भारत, बंगलादेश, नेपाल, युरोप लगायतका विभिन्न देशका शोधकर्ताहरुले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।वरिष्ठ शोधकर्ता रिधिस राजवंशीले यो सम्मेलनले नेपालका लागि ज्ञान आदानप्रदानको मञ्चको रुपमा काम गरेको बताए । उनले विभिन्न देशका अनुसन्धानकर्ताहरुलाई नेपालको व्यापार र जलवायुपरिवर्तनले निम्त्याएको चुनौतीबारे बुझ्न सहयोग पु¥याएको उल्लेख गरे । भारतबाट सहभागी शोधकर्ता रचना सिन्नारकरले व्यापारमा महिलाको भूमिका र सशक्तीकरणमा यो सम्मेलनले नयाँ आयाम ल्याएको बताइन् ।

उनका अनुसार महिलाले व्यापारमा खेल्न सक्ने भूमिका, उनीहरुको आर्थिक तथा राजनीतिक सशक्तीकरणका पहलका लागि आवश्यक रणनीतिहरुबारे यस सम्मेलनमा छलफल गरिएको थियो । अर्का प्रस्तुतीकर्ता अलकनन्दा मिश्रले महिला, व्यापार र जलवायु परिवर्तनबीचको सम्बन्धबारे सम्मेलनमा विशेष चर्चा गरिएको बताईन् ।उत्कृष्ट शोधपत्रका लेखक सुशान्त रिजालले जलवायु परिवर्तनले नेपालको व्यापार क्षेत्रमा पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने आर्थिक चुनौतीलाई आफ्नो अनुसन्धानले उजागर गरेको बताए । उनले आफ्नो शोधपत्रमा जलवायु परिवर्तनका कारण व्यवसायिक व्यक्तिहरुले भोग्नुपर्ने जोखिम र त्यसको निवारणका उपायहरुका बारेमा गहन अध्ययन गरिएको जानकारी दिए । उनका अनुसार यो सम्मेलनले जलवायु परिवर्तन र व्यापारबीचको सामन्जस्यता बुझ्न र समस्याको समाधान खोज्न महत्वपूर्ण योगदान पुर्याएको छ ।

सम्मेलनका अर्का सहभागी सान्ती रियाङका अनुसार यो कार्यक्रमले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुका लागि ज्ञान आदानप्रदान गर्ने प्लेटफर्मको रुपमा काम गरेको छ । उनका भनाइमा दक्षिण एसियाली देशहरुबीच व्यापार र जलवायु परिवर्तनका विषयमा सहकार्य गर्नका लागि यस्तो सम्मेलनले आधार तयार पार्छ ।यो दुई दिने सम्मेलनमा भारत, चीन, टर्की, बंगलादेश, इन्डोनेसिया लगायतका नौवटा देशका प्रतिनिधिहरु सहभागी भएका थिए । शनिवारदेखि काठमाडौंको याक एण्ड यति होटलमा सुरु भएको सम्मेलन आइतबार सम्पन्न भएको हो ।
सम्मेलनमा प्रस्तुत गरिएको ‘नेपालको व्यापारमा डिजिटाइजेसन’ विषयक शोधपत्रका लेखक रिया रेग्मी र दिपेश कार्कीले नेपालजस्तो मुलुकका लागि डिजिटल प्रविधि अपनाउनु व्यापारिक सुधारको महत्त्वपूर्ण पक्ष भएको बताए ।

सम्मेलनले जलवायु परिवर्तन र व्यापारका क्षेत्रहरुमा थप अनुसन्धानात्मक कार्य गर्न प्रोत्साहन गर्ने आयोजकहरुको अपेक्षा छ । आयोजकका अनुसार यो सम्मेलनले नेपालको व्यापार, जलवायु परिवर्तन, महिला सशक्तीकरण र डिजिटाइजेसनजस्ता विषयलाई गहिरो रुपमा अध्ययन गर्नका लागि नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।यस सम्मेलनले व्यापार र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरुका लागि एउटा सशक्त मञ्चको रुपमा काम गरेको छ । सहभागी अनुसन्धानकर्ताहरुका अनुभव र ज्ञानबाट नेपाली अनुसन्धानकर्ताहरुले महत्वपूर्ण लाभ लिएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने आयोजकहरुले जानकारी दिएका छन् ।