२०८१ माघ १९ , शनिवार

इजरायल हमास बीच आजबाट युद्धविराम

Israel Hamas

सुनाखरी न्युज/ काठमाडौं ।

आजदेखि  इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो ।

अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने छ । यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ ।

 

 

पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्ने छन् ।

 

यसअघि इजरायलको न्याय मन्त्रालयले पहिलो चरणमा ७३७ प्यालेस्टिनी रिहा हुने जनाएको थियो । यद्यपि त्यसको पूर्णसूची सार्वजनिक भइसकेको छैन । तर मन्त्रालयले आइतबार ६९ महिला, १६ पुरुष र १० नाबालिगलाई मुक्त गर्ने जनाएको छ ।

इजरायलले हरेक दिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने छ ।

 

युद्धविरामको पहिलो चरण सबै ठिकठाक कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता सुरु हुनेछ । यस क्रममा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ ।

युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने छ । रिहा हुनेहरुको सूचीमा १५ वर्षदेखि इजरायलमा बन्दी जीवन बिताइरहेकाहरु पनि रहेका समाचार एजेन्सीहरुले जनाएका छन् ।

 

तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ । पुनर्निर्माणको काम ३ देखि ५ वर्षभित्र सक्ने लक्ष्य छ । यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरुको शव पनि आदान–प्रदान गरिने छ ।

युद्धविराम सम्झौता कार्यान्वयन अमेरिकासहित चार देशका प्रतिनिधिहरुले निगरानी गर्ने छन् । निगरानीका लागि अमेरिका, इजिप्ट, कतार र इजरायलका प्रतिनिधि रहेको एक संयुक्त कार्यालय समिति गठन गरिएको छ । मानवअधिकारवादी संस्थाहरुले पनि आफ्नो ढंगले निगरानी जारी राख्ने बताइएको छ ।