सुनाखरी न्युज/ काठमाडौँ।
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले १०२ बुँदे ‘एड्भाइजरी‘ जारी गरेको छ ।
साइबर सुरक्षा हेर्ने सरकारको आधिकारिक निकाय राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर हमलाबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका महानिर्देशक अनिलकुमार दत्तले बताए ।
‘सरकारी कार्यालयको वेबसाइटमा समस्या देखिने, साइबर हमलामा पर्ने, सूचना चोरी हुनेलगायत समस्या देखिएपछि हामीले एडभाइजरी जारी गरेका हौं। अहिले देशभरका सरकारी वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जाल साइबर आक्रमणकारीको निसानमा परिरहेको समाचारहरू आइरहेका छन्,’ उनले भने, ‘त्यसकारण यसबाट बच्न हामीले टुल्सको रुपमा १०२ बुँदे ‘एड्भाइजरी’ जारी गरेका हौं। यसले सरकारी निकायलाई मात्रै होइन। सर्वसाधारण नागरिकलाई पनि साइबर आक्रमणबाट कसरी जोगिने भनेर काम लाग्छ।’
उनका अनुसार जारी गरिएको उक्त एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपायहरू समावेश गरिएका छन्।