२०८१ फाल्गुन ६ , मंगलबार

डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु

fire 3

सुनाखरी न्युज/ काठमाडौं ।

मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिनुभयो ।उहाँका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो ।

मृतक सार्कीका ज्वाइँ र छोरी खेत गएको बेला घरमा आगलागी भएको थियो । आगलागीपछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरेको वडाअध्यक्ष बुढाले बताउनुभयो । आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गर्नुभयो । रासस