सुनाखरी न्युज/ काठमाडौँं ।
नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । संसदमा पेश गरिएको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो । माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकले तयार गरेको पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु आज सर्वजनिक गरेको छ । महासंघले माघ २० गतेदेखि गर्ने आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।
त्यस्तै जिल्ला स्तरका कार्यक्रम अन्तर्गत माघ २६ गते हरेक जिल्लामा आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइनेछ । त्यस्तै फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसदलाई सरकार र महासंघबिच भएका विगतका सबै सहमती समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तीमा महासंघसँग सरकारले गरेका विभिन्न सम्झौता अनुसार ऐनमा नसमेटिएको जनाएका छन् । आन्दोलन सम्बन्धी जानकारी दिनका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विभिन्न समयमा सम्झौताहरु भएका थिए । संसद्मा पेश गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षक–कर्मचारीका माग र हकहितको प्रतिकूल रहेको महासंघले जनाएको छ ।
विधेयकले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको महासंघको ठहर छ ।आन्दोलनका क्रममा ‘हाम्रो आन्दोलन जारी छ’, ‘हाम्रा माग सम्बोधन हुने गरी यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’, नेपाल शिक्षक महासङ्घ जिन्दाबाद जस्ता नारा तय भएका छन् ।