सुनाखरी न्युज/ काठमाडौँं ।
इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवितै रहेको बताएको छ। गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू विपिन जोशीको रिहाइको पर्खाइमा छन् । सरकारले उनी जीवित रहेको र चाँडै फर्कने दाबी गर्दै आएको छ । इजरायली अधिकारीहरूका अनुसार आज हमासले पाँच थाई नागरिकसहित ८ बन्धक रिहा गर्दै छ। तर यो सूचीमा नेपाली बन्धक परेका छैनन् ।
द टाइम्स अफ इजरायलका अनुसार हमासले आज रिहा गरिने ३ जनाको नाम मात्र सार्वजनिक भएको छ । जसमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेस छन् । यसका साथै आज ५ थाई बन्धक पनि रिहा हुने इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् ।द टाइम्स अफ इजरायलले लेखेको छ, ‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन्। तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ ।’
इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ । यसबीच उनीहरूले सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन् । यस क्रममा हमासले आज तेस्रोपटक बन्धक रिहा गर्न लागेको हो । यसअघि दुईपटक गरेर हमासले ७ बन्धक तथा बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरिसकेका छन् ।