सुनाखरी न्युज/ काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले शिक्षकलाई पनि निजामती कर्मचारीसरह सेवासुविधाको प्रबन्ध गर्नसके शिक्षामा गुणस्तर वृद्धि हुने बताउनुभयो । बागलुङ नगरपालिका–४ स्थित देउराली प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाट गर्दै सचिव पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभयो । उहाँले आफू शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि ५५ बुँदे योजना बनाएर काम थालेको स्मरण गर्नुभयो । सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने शिक्षण पेसाप्रति थप आकर्षण बढ्ने उहाँले उल्लेख गर्नुभयो । “बागलुङको शैक्षिक पूर्वाधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले राहत पु¥याएको छ”, सचिव पौडेलले भन्नुभयो । उहाँले शिक्षकको शिक्षण सिकाइ क्रियाकलापमा राज्यले प्रोत्साहन दिनुपर्ने बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ५० लाखको लागतमा चारकोठे भवन निर्माण गरिएको हो ।
रासस