सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले सल्यानमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु¥याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद नेपालीले अझै पनि सल्यानमा टुकी र दियालो बाल्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल आज पूरै ‘लोडसेडिङमुक्त’ छ भनेर भन्दै गर्दा सल्यान बत्तीमुनिको अँध्यारो भएको छ । सल्यानका अधिकांश बस्तीमा आज पनि राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।” सांसद नेपालीले राप्ती राजमार्गको स्तरोन्नति नहुँदा जनता ज्यानको बाजी राखेर कष्टपूर्ण यात्रा गर्न बाध्य रहेको बताउनुभयो । उहाँले राजनीतिक प्रतिशोधमा सल्यानलाई अलपत्र पारेको गुनासो गर्दै राप्ती राजमार्गको स्तरोन्नति गरेर कालोपत्र गर्न सरकारसँग माग गर्नुभयो । सल्यानको कपुरकोटमा किसानले वार्षिक करोडौँ रुपैयाँको हरियो तरकारी उत्पादन गरे पनि हालसम्म उक्त गाउँपालिकामा विषादी परीक्षण गर्ने ‘क्वारेन्टाइन’ मेशिन नभएको सांसद नेपालीले बताउनुभयो । “मेसिनका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको तर उपलब्ध भएको छैन । जनताले विषादीमुक्त तरकारी खान पाउनुपर्छ,” उहाँले भन्नुभयो ।
रासस