सुनाखरी न्युज/ काठमाडौँ ।
बलिउड अभिनेता गोविन्दा र पत्नी सुनिता आहुजाबीच यतिबेला डिभोर्स हुन लागेको चर्चा छ । यद्यपी, यी दुईले यसबारे आधिकारिक बयान दिएका छैनन् । भारतीय संचारमाध्यले लगातार यो बलिउड जोडीको दाम्पत्य जीवनमा संकट आउन लागेको खबर लेखिरहेका छन् । यो चर्चाबीच, उनीहरूको पछिल्लोपटकको नेपाल भ्रमणको चर्चा पनि मिडियामा छ ।नवभारत टाइम्स लगायतका केही भारतीय मिडियाले गोविन्दा र सुनिताको पछिल्लोपटकको नेपाल भ्रमणदेखि यी जोडी अलग अलगरुपमा प्रस्तुत भएको समाचार लेखेका छन् । हुन पनि, अंग्रेजी नयाँवर्ष २०२५ मनाउन सुनिता र गोविन्दा दुबैजना त्यतिबेला काठमाडौंमा थिए ।
सुनिता आफ्नी छोरी टीनासहित जनवरी १ मा दर्शनका लागि पशुपतिनाथको मन्दिरमा गएकी थिइन् । त्यतिबेला मन्दिरमा गोविन्दा गएका थिएनन् । सुनिताले पशुपति दर्शनको फोटो सार्वजनिक गरेकी थिइन् । पुस २० गते गोविन्दा अंग्रेजी नयाँवर्ष मनाएर फर्किएका थिए । उनी एक्लै फर्किने बेला विमानस्थलमा उनको भेट नेपाली अभिनेता किरण केसीसँग भएको थियो । गोविन्दाका वकिलले भने केही भारतीय मिडियामा काठमाडौं भ्रमणमा पनि गोविन्दा र सुनिता काठमाडौंमा एकसाथ रहेको दावी गरिरहेका थिए । तर, नयाँ विवरणमा वकिलको दाबी झूठो भएको उल्लेख छ । उनीहरू यसअघि एकसाथ नेपाल आउने गरेका थिए । एकसाथ नेपाली मिडियालाई पनि अन्तर्वार्ता दिने गरेका थिए ।
रासस