बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेद हुने आशंका बढेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्।
बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको विषयमा गसिप चलिरहेका छन् । केही रिपोर्ट र सामाजिक सञ्जालका पोस्टहरूले यी दुईको ३७ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य हुन सक्ने दाबी गरिरहेका छन् । तर, यी अफवाहमा गोविन्द र उनको परिवारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । तर गोविन्दाका भतिजा तथा हास्य कलाकार कृष्णा अभिषेकले भने यो सम्भव नभएको बताएका छन्।
सुनिताले केही समयअघि आफू र गोविन्दा सँगै नबस्ने खुलासा गरेकी थिइन्। उनले भनेकी थिइन् , हाम्रा दुईवटा घर छन्। म एउटा फ्ल्याटमा छोराछोरीसँग बस्छु, गोविन्दा अर्को फ्ल्याटमा बस्छन्। गोविन्दा कामको सिलसिलामा राति ढिला घर आउँछन्। जसका कारण हामी सँगै बस्दैनौँ। सुनिताले युट्युब च्यानल हिन्दी रशलाई अन्तर्वार्ता दिँदै यी कुरा भनेकी थिइन्।
वास्तवमा २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्ध विच्छेद हुन्छ, त्यसलाई ग्रे डिभोर्स भनिन्छ। यसलाई सिल्भर स्प्लिटर्स पनि भनिन्छ ।