२०८२ जेठ २ , बिहिवार

जेलेन्स्कीसँग विवाद भएपछि ट्रम्पले रोके युक्रेनलाई सैन्य सहयोग

donald trump

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् । ट्रम्पको यो आदेशसँगै भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन् ।

ओभल अफिसमा युक्रेनी राष्ट्रपतिसँग भएको तनावपूर्ण बैठकको केही दिन पछि ट्रम्पले उक्त निर्णय गरेका हुन् । ब्लुम्बर्गका अनुसार यसले युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सहयोगी देशको समर्थन अनिश्चित बनेको छ ।

 

अमेरिकी रक्षा विभागका एक वरिष्ठ अधिकारीका अनुसार, संयुक्त राज्य अमेरिकाले अहिले युक्रेनलाई दिइरहेको सबै सैनिक सहयोग रोक्ने निर्णय गरेको छ। यो सहयोग युक्रेनी नेताहरूले शान्तिप्रति ईमान्दार प्रतिबद्धता नदेखाएसम्म रोकिने ट्रम्पले बताएका छन् ।

 

 

अमेरिकाको यो निर्णयअघि जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूको युद्धविराम आह्वानप्रति प्रतिक्रिया दिंदै युक्रेनको सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रूसको आक्रमणको दीर्घकालीन अन्त्य नगर्ने बताएका थिए ।

लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि आइतबार पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धविरामले युद्ध अन्त्य गर्ने विचारलाई ‘पर्याप्त नभएको’ भन्दै खारेज गरेका हुन् ।