सुनाखरी न्युज/ काठमाडौं।
प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्र्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित सबै प्रतिपक्षी दल उठेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिनुभएको थियो ।
उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोधिरहेको तथा मूल्याङ्कनमा शून्य नम्बर दिएको कुरा के हो, त्यस विषयमा सभामुखमार्फत सरकारसँग जानकारी माग गर्नुभयो । उहाँले प्राधिकरणलाई नाफामा लगेका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरण र कार्यसम्पादन मूल्याङ्कनका विषयमा सरकारको भनाइ आउनुपर्ने माग गर्दै सो सन्दर्भमा स्पष्ट जवाफ नआउँदासम्म प्रतिपक्षी दलहरूको तर्फबाट विरोध जारी रहने स्पष्ट गर्नुभयो ।
रासस