सुनाखरी न्युज/ काठमाडौं।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आज जनकपुरधामस्थित रेल्वे स्टेसन तथा नेपाल रेल्वे कम्पनीको भ्रमण तथा निरीक्षण गर्नुभएको छ । एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष झाले आज बिहान जनकपुरधामस्थित रेल्वे स्टेसन तथा नेपाल रेल्वे कम्पनी र कार्यालयको भ्रमण तथा निरीक्षण गर्दै कुर्था–जनकपुर–जयनगर रेल सेवाबारे कर्मचारीसँग छलफल पनि गर्नुभयो । छलफलका क्रममा उहाँले लामो समयको प्रतीक्षा पछि नेपालमा रेल सेवा सञ्चालन हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुभयोे ।
मुलुकमा भएको राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधारका क्षेत्रमा विकास र प्रगति भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले रेल सेवा सञ्चालन हुनु यसैको उदाहरण भएको धारणा राख्नुभयो । राससले हालै प्रकाशन गरेको ‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्षे उपलब्धि’ पुस्तकमा नेपाली रेल र रेल्वे स्टेसनको फोटोसमेत समावेश गरिएको जानकारी दिँदै अध्यक्ष झाले नेपाली रेल्वे सेवाका अधिकांश सूचना तथा समाचारलाई राससले प्राथमिकता दिइरहेको बताउनुभयो । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले उहाँलाई कार्यालय परिसरमा स्वागत गरेका थिए ।
रासस