सुनाखरी न्युज/ काठमाडौं ।
मार्क कार्नीलाई क्यानडाको सत्तारूढ लिबरल पार्टीले नयाँ नेता चयन गरेको छ । यससँगै बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर उनी देशका आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
उनले यस वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका जस्टिन ट्रुडोको स्थान लिनेछन् । ५९ वर्षीय कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गरेका छन् ।
कुनै राजनीतिक पृष्ठभूमि नभएको व्यक्ति क्यानडाको प्रधानमन्त्री बन्न लागेको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
राजनीतिमा नयाँ आएका कार्नीले पार्टीलाई पुनर्जीवित गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार वार्ता गर्न सबैभन्दा उपयुक्त व्यक्ति आफू भएको तर्क गरेका छन् ।
कार्नीले भनेका छन्, ‘जी–७ का दुई केन्द्रीय बैंकहरूको गभर्नरको रूपमा सेवा गर्ने पहिलो व्यक्ति भएको नाताले मेरो अनुभवले प्रमाणित गर्छ कि म ट्रम्पसँग व्यवहार गर्न सबैभन्दा सक्षम छु ।’
ट्रम्पले क्यानडामा अतिरिक्त कर लगाउने धम्की दिइरहेका छन् । यदि त्यसो भएमा क्यानडाको निर्यात–निर्भर अर्थतन्त्रलाई असर गर्न सक्ने अनुमान छ ।