२०८१ चैत्र १३ , बिहिवार

नेपालमा आज पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

gold-1-1024×777

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको लागि आज पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ। जस अनुसार प्रतितोला १,७५,२०० कायम भएको छ । सुनको अन्तर्राष्ट्रिय मूल्यमा भएको लगातार वृद्धिले प्रति औंश ३००० डलर नाघेपछि नेपालमा यो नयाँ मूल्यकायम भएको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एवं सुनचाँदी दरभाउ निर्धारण समितिका सभापति दियेशरत्न शाक्यका अनुसार
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको लगत्तै अमेरिकाले बढाएको भन्सार शुल्कले गर्दा अमेरिकाको क्यानडा, मेक्सिको ,चीनसँग हुने स्टिल र आलुमिनियमको व्यापार मात्र प्रभावित नभई युरोप सँग हुने मदिराजन्य व्यापार लगायत पनि प्रभावित भएको र यसले विश्वकै आर्थिक क्षेत्र प्रभावित भई मुद्रास्फिति बढाएकोले महङ्गी विरुद्धको हेजिङको लागि सुनको आकर्षण बढेको हो ।

रूस र युक्रेन बीचको युद्ध अस्थायी रुपमा रोकिए पनि यसको अन्त्य हुने विश्वसनीय आधार तयार नभएको र मध्यपूर्व लगायत अन्य देशको भूराजनीतिक तनाव कायम नै रहेको परिप्रेक्ष्यमा पनि सुरक्षित लगानीको लागि सुनको माग निरन्तर बढिरहेकोले ऐतिहासिक मूल्य वृद्धि भएको हो । विगत केही दिनमा डलरको मूल्य ०.३२प्रतिशतले कम हुनु,अमेरिकाले ३० भन्दा बढी देशहरूलाई भिसा दिन कडाई गर्ने कानुन बनाउनु लगायतका कारणले आर्थिक बजारमा आएको हलचलले गर्दा पनि सुनको मूल्य थप चुलिएको हो।