२०८१ चैत्र १० , सोमवार

काठमाडौँमा कक्षा ८ को अन्तिम परीक्षा होम सेन्टरबाट बाहिर

OIP

 

सुनाखरी न्युज/ काठमाडौं ।
आधारभूत शिक्षा परीक्षा ( कक्षा ८) को वार्षिक परीक्षामा काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत) बाट १८ हजार २९४ जना विद्यार्थी सहभागी भएका छन् । परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिर निकालिएको छ । गएको वर्षसम्म विद्यालयभित्रै सञ्चालन भइरहेको परीक्षा यस वर्षदेखि विद्यालय बाहिरको परीक्षा केन्द्रबाट लिन थालिएको हो । २०८१ फागुन २६ गते बसेको परीक्षा समितिको बैठकले होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरेर विद्यालयबाट परीक्षा केन्द्र बाहिर ल्याएको निर्णय गरेको थियो ।

यस्तै संस्थागत विद्यालयका कक्षा ८ का विद्यार्थीहरूको वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ । केन्द्रहरूमा सञ्चालन भएको परीक्षाको मर्यादाको अनुगमनका लागि शिक्षा विभागले अधिकारीहरू खटाएको छ । केन्द्रीय बहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको छ । विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा यस्तो व्यवस्था गरिएको हो । यस्तै अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरूलाई पनि विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । दृष्टिविहीन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि उनीहरूले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्ने अधिकार दिएर परीक्षा सञ्चालन गरिएको छ ।

विकासात्मक अपांगतमा भएका परीक्षार्थीलाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्न पत्र तथा परीक्षामा लेख्न समस्या भएमा व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन केन्द्रलाई जिम्मेवारी दिइएको थियो । प्रश्न पत्रबाट विकासात्मक अपांगता वा विशेष प्रकृतिका बालबालिकाहरूले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टीकरण तालिकाको परिधिमा रहेर परीक्षा सञ्चालन र मुल्यांकन गरेर प्राप्तांक सम्बन्धित स्रोत केन्द्रमा बुझाउने व्यवस्था मिलाइएको थियो । यसका लागि अभिभावकहरूबाट निवेदन माग गरियो । यस विषयमा सम्बन्धित विद्यार्थीका अभिभावकसँग शिक्षा विभाग अधिकारीका बिच चैत ४ गते सम्पन्न बैठकमा अभिभावकहरूबाट परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेर समय थप गर्न माग गरेपछि यस्ता विद्यार्थीहरूका लागि समेत केन्द्रबाटै परीक्षा सञ्चालन गरियो । यसरी परीक्षा दिने विद्यार्थीको संख्या ५ जना रहेको छ ।

परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केवश ज्ञवालीका अनुसार विदेशी विद्यार्थीलाई सट्टा विषयमा परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थी वा अभिभावकले अनुरोध गरेमा सट्टा विषयमा परीक्षा दिन पाउने व्यवस्था गरिएको हो । उनीहरूले अनिवार्य नेपाली विषयको सट्टा इलेक्टिभ इङ्लिस र नेपाल भाषाको सट्टामा अप्सनल इङ्लिस वा विद्यार्थीले छानेको विषयमा परीक्षा दिनेछन् । यसका लागि सम्बन्धित विद्यालयले प्रश्न पत्र तयार गर्ने र आफैँ परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्नेछन् । उत्तर पुस्तिका सम्बन्धित विद्यालयका शिक्षकले नै परीक्षण गरेर परीक्षण केन्द्रमा बुझाउनेछन् । सामाजिक विषयको हकमा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन नसक्ने विदेशी विद्यार्थीका लागि शिक्षा विभागले प्रश्न पत्र अंग्रेजी भाषामा अनुवाद गरेर उपलब्ध गराउनेछ । यस प्रश्न पत्रमा विद्यार्थीहरूले उत्तर दिन पाउनेछन् ।

महानगरभित्रका सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका परीक्षार्थी सहभागी भएका छन् । यसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन् । लिङ्गका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन् । यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरू पनि समावेश छन् । जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशस् २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।