सुनाखरी न्युज/ काठमाडौं ।
ह्वाट्सएपमार्फत् चिट चोराउने कार्यमा संलग्न दुई निरीक्षकलाई बारा प्रशासनले पक्राउ गरेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ) मा डिजिटल प्रविधिको दुरुपयोग गर्दै चिट चोर्ने नयाँ तरिका अपनाइएको खुलेको हो। ह्वाट्स एप ग्रुपमार्फत् चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले आज बिहान पक्राउ गरेको छ । उनीहरुले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।
ह्वाट्सएपमा प्रश्नपत्रको फोटो पठाएर उत्तर प्राप्त गरी परीक्षार्थीलाई चिट चोराउन मद्दत गरेका निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभ यादव पक्राउ परेका हुन्। उनीहरूले डिजिटल माध्यम प्रयोग गरी परीक्षार्थीलाई चिट उपलब्ध गराएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी ( प्रजिअ) बसन्त अधिकारीका अनुसार पक्राउ परेकाहरूले गल्ती स्वीकार गरिसकेका छन् र उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रजिअ अधिकारीका अनुसार परीक्षाको अनुगमनका क्रममा शंका लागेपछि निगरानी बढाइएको थियो। अनुसन्धानका क्रममा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभले ‘साथी’ नामक ह्वाट्सएप ग्रुप बनाइ परीक्षामा चिट चोर्ने योजनामा संलग्न रहेको खुलासा भयो। ‘उनीहरूले प्रश्नपत्रको फोटो खिचेर सो ग्रुपमा पठाउने, त्यसपछि उत्तर प्राप्त गरी परीक्षार्थीलाई उपलब्ध गराउने गरेका थिए,’ प्रजिअ अधिकारीले भने। तर, आज उत्तर परीक्षार्थीहरूसम्म पुग्न नपाउँदै उनीहरूलाई मोबाइलसहित नियन्त्रणमा लिएको हो। अधिकारीका अनुसार निरीक्षक रञ्जु कुमारीले सोही परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी आफ्नी छोरीलाई चिट दिन उक्त ह्वाट्सएप ग्रुपको प्रयोग गरेकी थिइन्।