२०८१ चैत्र १० , सोमवार

मासुका लागि गोठमा बाँधिएको जिउँदै गोरुको फिला काटियो

Cow-900-1024×690-1742622847

सुनाखरी न्युज/ काठमाडौं ।

घटना इलामको सूर्योदय नगरपालिका ६ कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब चार किलो मासु निकालेर लगेको स्थानिय संचारकर्मी गोपाल गिरीले बताए । उनले फिला काटिएको गोरुको भिडियो कन्यामपोस्टमा राखेका थिए । ‘एकदमै क्रुरतापूर्वक जिउँदै गोरूको फिला काटिएको छ’ उनले भने, ‘हेर्न पनि नसकिने यस्तो काम कसले गर्‍यो पत्ता लगाउन सकिएको छैन ।’

उक्त गोरु स्थानिय राम राईले पालेका थिए  सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको गिरीले बताए । गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको थियो ।

यसअघि उनै राईको एक हल गोरुको फिला काटेर लगेको थियो । त्यसमध्ये एउटा गोरु पनि मरिसकेको छ । आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, उनीहरुले यसको संकेत पाउन नसकिएको भन्दै घटनालाई सामसुम बनाएका थिए ।