२०८१ चैत्र १२ , बुधवार

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै, के के छन् एजेन्डा

oli deuba prachanda

सुनाखरी न्युज/ काठमाडौं ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक अपराह्न चार बजे बस्ने छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय भएको बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

 

यसअघि संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन भएपनि उक्त कमिटीले सिफारिस नगरी म्याद गुजारेको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन ।