सुनाखरी न्युज/ काठमाडौं ।
जिल्लाको खत्याड गाउँपालिका – ७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् ।उनान्सत्तरी वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सञ्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपाध्याय र ६४ वर्षीया सौरा देवी घोडासैनीले राष्ट्रिय परिचयपत्र लिन समस्या भएकाले भत्ता पाउन मुस्किल भइरहेको बताएका हुन् ।
स्थानीयका अनुसार बैंकमा भत्ता लिन जाँदा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भनेपछि परिचयपत्र बनाउन दुई तीन दिन हिँडेर जिल्ला सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । यसले गर्दा धेरै ज्येष्ठ नागरिकले भत्ता पाउन सकेका छैनन् ।
स्थानीय सरकारले यस विषयमा चासो नदिँदा वृद्ध वृद्धा थप समस्यामा परेका छन् । सम्बन्धित निकायले समाधानका लागि पहल गर्नुपर्ने ज्येष्ठ नागरिक बताउँछन् । रासस