साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नुअघि नै आफ्नो विश्वकप यात्रा सुरक्षित गरेको हो। छनोट भैसकेपछि आज बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हराएको छ ।
अर्जेन्टिनाको मास मोनुमेन्टल रंगशालामा अर्जेन्टिनाको जितका लागि जुलियन अल्भारेज, इन्जो फर्नान्डेस, एलेक्सिस म्याक अलिस्टार र गुइलिआनो साइमनले गोल गरेका थिए । ब्राजिलका लागि माथ्थिउस कुन्वाहाले एक गोल फर्काए । दक्षिण अमेरिकी छनोट प्रक्रियामा १० टोली सहभागी छन्, जसबाट शीर्ष ६ टिम सिधै विश्वकपमा छनोट हुनेछन्। अर्जेन्टिनाले हालसम्म १३ खेल खेल्दा २८ अंक जोडेको छ र दोस्रो स्थानको टोलीभन्दा ६ अंकको अग्रता बनाएको छ।
साविक विजेता अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट हुने पहिलो दक्षिण अमेरिकी टिम बनेको छ। अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा अर्जेन्टिनाले आफ्नो स्थान सुरक्षित गरिसकेको छ। यसैबीच, अर्जेन्टिनाले हाल ब्राजिलसँग प्रतिस्पर्धा गरिरहेको छ। हालसम्म तीन आयोजक राष्ट्रसहित सात टोली विश्वकपमा स्थान बनाइसकेका छन्। एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड छनोट भएका छन्।