२०८१ चैत्र १६ , आइतवार

कटन क्याण्डीमा अखाद्य रंग प्रयोग भएको भन्दै नखान सरकारको आग्रह

OIP (1)

 

सुनाखरी न्युज/ काठमाडौं ।

मेला महोत्सव वा बजारमा घुम्न गएको बेला कटन क्याण्डी खाने अथवा खुवाउने गर्नु भएको छ ? यदि छ भने त्यो काम बन्द गर्नुस् । किनकि कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेको छ । खुलारूपमा बेचिने कटन क्यान्डीमा अखाद्य रंगको प्रयोग हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला परीक्षणमा क्यान्डीमा ‘रोडामाइन बी’ नामक हानिकारक रंग प्रयोग भएको पाइएको हो । सो रंगले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भन्दै विभागले खुलारूपमा बिक्री हुने रंगिन कटन क्यान्डी नखान भनेको हो ।

त्यसैले विभागले सूचना जारी खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ । साथै अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि विभागले भनेको छ । यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

रोडामाइन बी एक केमिकल हो । खाद्य पदार्थको रंग परिवर्तन गर्न, सौन्दर्यका प्रशाधन, आतसबाजी, कालो मरिच लगायतका मसला लगायतमा पनि उपयोग हुने गरेको छ । विभागले यस्ता हानिकारक रंगको प्रयोग गरी खाद्य पदार्थ उत्पादन गरेको पाइए खाद्य ऐनअनुसार कारबाही गरिने पनि चेतावनी दिएको छ ।