२०८१ चैत्र १७ , सोमवार

अमेरिकाले कार आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धिसम्बन्धी नयाँ घोषणा गर्नुभएको छ । उहाँले अमेरिकामा आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत महसुल लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने मई वा त्यसपछि सुरु हुने छ ।

ट्रम्पको यो कदमबाट ‘ग्लोबल ट्रेड वार’ सुरु हुने आशंका बढेको बीबीसीले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो यो कदमबाट कार इन्डष्ट्रीमा शानदार प्रगति हुने जिकीर गरेका छन् ।  उनी यो कदमबाट अमेरिकामा रोजगार र लगानी पनि बढ्ने विश्वासमा छन् ।विज्ञहरुका अनुसार ट्रम्पको यो कदमले अमेरिकामा महत्त्वपूर्ण कार उत्पादनलाई अस्थायी रूपमा रोक्न सक्ने, मूल्य बढ्न सक्ने र सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा तनाव निम्त्याउन सक्ने छ ।

अमेरिकाले गएको वर्ष लगभग ८० लाख कार आयात गरेकामा २ सय ४० बिलियन अमेरिकी डलरको कारोबार गरेको थियो । अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी परेका छन् । ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृङ्खलालाई असर गर्ने खतरा छ ।