२०८१ चैत्र १७ , सोमवार

काठमाडौंमा आज दुई शक्ति प्रदर्शन : उपत्यकामा कडा सुरक्षा, ३५ सय प्रहरी परिचालन

rajabadi-julus1

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा ( माओवादी केन्द्र) सहित एकीकृत समाजवादी र नेकपालगायत मोर्चाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने तय भएको छ । भृकुटीमण्डपमा मोर्चाले शक्ति प्रदर्शन गरिरहँदा केही किलोमिटरको दूरीमा रहेको तीनकुनेमा राजावादी समूहले शक्ति प्रदर्शन गर्दै छ । चैतको चर्कँदो घाममा एकैदिन दुई पक्षको विरोध प्रदर्शनबाट उपत्यका अस्तव्यस्त हुने भएको हो ।

सानो जात्रा मात्र हुँदा यातायात व्यवस्था अस्तव्यस्त हुने काठमाडौंमा दुई ठाउँमा जुलुस निकाल्दा जनसाधारणले सास्ती पाउने निश्चित छ ।समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहभागी छन्। उनीहरूले भृकुटीमण्डपदेखि प्रदर्शनीमार्गसम्म र्‍याली निकाल्नेछन्। पूर्वराजा समर्थक समूह ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का आयोजनामा प्रदर्शन गर्नेछन्।

सुरक्षा दृष्टिकोणबाट, उपत्यका प्रहरी कार्यालयले उच्च सतर्कता अपनाएको छ। तीनकुने र प्रदर्शनीमार्ग क्षेत्रमा प्रहरी परिचालन गरिने छ। ३५०० प्रहरी, सादा पोसाकका सुरक्षाकर्मी र ट्राफिक डाइभर्ट गर्दा सुरक्षा संयन्त्रलाई उच्च तयारीमा राख्ने योजना बनाइएको छ। काठमाडौंका प्रमुख प्रदर्शनस्थलहरूमा सुरक्षा व्यवस्था कडा राख्ने छ ताकि कुनै अप्रिय घटना रोक्न सकियोस्।