सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे सुरु हुनेछ । आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधबारदेखि अवरोध हुँदै आएको छ । बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो दिनभर छलफल गरेपनि समस्याको समाधान भएको छैन् ।
प्रतिपक्षी दलले घिसिङलाई हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसद्मा जवाफ माग्ने कार्य अनुचित भएको बताउनुभएको छ । उहाँले आफूले घिसिङ हटाउने विषयमा संसद्मा जवाफ नदिने बताएपछि सत्ता पक्ष र प्रतिपक्षबीच टक्कर जारी रहेको छ ।