सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका नेताहरूलाई पक्राउ गर्न सुरु गरेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदर्शनमा संलग्न नेताहरु पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् ।
राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको हो । यस्तै नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ। प्रहरीले आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्नलाई प्रक्राउ गरेको जनाएको छ। लुटपाटमा संलग्न तथा विभिन्न सञ्चारमाध्यममा आक्रमण गर्नेहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरीले राजावादीका कमान्डर भनिएका दुर्गा प्रसाईंको खोजी जारी राखेको छ । उनी हालसम्म सम्पर्कविहीन छन् ।आज प्रदर्शनमा उत्रिए सुरुमै दमन गर्ने प्रहरी रणनीति छ । राजवादीको प्रदर्शन शुक्रबार हिंसात्मक हुँदा दुईजनाको मृत्यु भएको थियो । ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । ठूलो परिमाणमा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको थियो ।