सुनाखरी न्युज / काठमाडौं ।
सरकारले राजतन्त्र पुनःस्थापनाको मागसहित शुक्रबार काठमाडौंको तीनकुनेमा विध्वंश मच्याउन निर्देशन दिएको दाबीसहित पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिँदै आएका सेवा–सुविधा र राहदानीसमेत जफत गर्ने प्रक्रिया अगाडि बढाएको छ। ‘ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको छ।
छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको छ,’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने।सरकारले शाहलाई जवाफदेही बनाउनु आवश्यक देखिएको बताउँदै “उनी नै मुख्य योजनाकार रहेको पुष्टि भइसकेको छ। सञ्चारमाध्यमदेखि आम नागरिकसम्म शाहमाथि निगरानी गर्न र कानुनी कारबाही अघि बढाउन माग भइरहेको छ,” स्रोतको भनाइ छ।
यदि शाहविरुद्ध दबाब झन् बढ्दै गएमा उनी पक्राउ पर्न सक्ने सम्भावनासमेत रहेको संकेत सरकारका अधिकारीहरूले गरेका छन्। यस विषयमा थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जनाइएको छ।