२०८१ चैत्र १९ , बुधवार

विक्रम बाबा मेला आजदेखि सुरु हुँदै

bikrambaba

सुनाखरी न्युज / काठमाडौं ।

भरतपुर महानगरपालिका–२३ कसरामा आजेखि बिक्रम बाबा मेला सुरु हुँदै छ । चैते दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै हुने मेलाको व्यवस्थापन स्थानीय टोल विकास संस्था, चितवन राष्ट्रिय निकुञ्ज, भरतपुर महानगरपालिकाको वडा नं। २३ र नजिकका मध्यवर्ती उपभोक्ता समूहले व्यवस्थापन गरेका छन् ।चैत औंसीदेखि पूर्णिमासम्म चल्ने मेला औंसीको दिन थारु समुदायका गुरौले पूजाआजा गरेपछि औपचारिकरूपमा शुभारम्भ हुने प्रचलन छ ।

यसपटक मेलाको पहिलो दिन हुँदै आएको बली राक्ने निर्णय भएको भरतपुर–२३ का वडाअध्यक्ष दीपक दवाडीले जानकारी दिए । ‘पहिलो दिन चढाउने गरिएको बली प्रथालाई हटाएका छौँ,’ उनले भने, ‘परेवा तिथिबाट भने चढाउन पाइने व्यवस्था छ ।’उनका अनुसार यसवर्षदेखि आधिकारिक गुरौको समेत व्यवस्था मिलाइएको छ । यसअघिका वर्षहरुमा थारु जातिकै गुरौ भए पनि ब्राम्हणहरुले समेत पूजाआजा गर्ने गरिएकोमा थारु जातिको पहिचान नमेटियोस् भनेर थारु गुरौलाई नै आधिकारिकरुपमा तोकेरै पूजापाठ गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

१५ दिनसम्म चल्ने मेलाको लागि केरूङ्गा मध्यवर्ती वन उपभोक्ता समिति र पटिहानी मध्यवर्ती उपभोक्ता समितिले व्यवस्थापनको जिम्मा लिएको छ । पटिहानी मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष शङ्कर महतोका अनुसार यसवर्ष बिक्रम बाबा मेला परिसरलाई व्यापारिक केन्द्र हुनबाट रोकेको छ । जगतपुरको कसरा चोकबाट करिब दुई किलोमिटरभित्र चितवन राष्ट्रिय निकुञ्जमा हुने पूजामा सहभागी सम्पूर्ण भक्तजनको लागि सरसफाइ र खानेपानीको समेत व्यवस्थापन मिलाइएको उनको भनाइ छ ।

सुरक्षाको लागि भने राप्ती पारि निकुञ्ज क्षेत्रभित्र नेपाली सेना र निकुञ्जबाहिरको क्षेत्रमा नगर प्रहरी र नेपाल प्रहरीसहित स्वयमसेवकहरुबाट सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । त्यसबाहेक मेला अवधिभर स्वास्थ्यसमस्या हुन सक्ने भक्तजनको लागि औषधिउपचारको समेत व्यवस्था मिलाइएको उनको भनाइ छ । दर्शनार्थीहरुलाई जङ्गलभित्रको करिब दुई किलोमिटर बाटोमा सहज यात्राको लागि सडकलाई धूलोरहित बनाउने प्रयास भइरहेको समेत जानकारी दिए । ‘सकेसम्म निकुञ्ज क्षेत्र प्रवेशमा प्लास्टिक निषेध गराउने प्रयाससमेत भइरहेको छ,’ उनले भने, ‘त्यसकारण दर्शनार्थीहरुलाई पनि हामी प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गर्दछौँ ।’