२०८१ चैत्र १९ , बुधवार

गाजामा इजरायली हमलामा बालबालिकासहित ८ जनाको मृत्यु

Capture

सुनाखरी न्युज / काठमाडौं ।

गाजाको नागरिक सुरक्षा एजेन्सीले प्यालेस्टिनीहरूले ईद अल–फितरको पहिलो दिन मनाउँदै गर्दा विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालमा आइतबार इजरायली हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको जनाएको छ । हमास र इजरायल दुवैले छुट्टीको समयमा गाजामा शत्रुता रोक्ने उद्देश्यले मध्यस्थकर्ताहरूबाट नयाँ युद्धविराम प्रस्ताव प्राप्त गरेको स्वीकार गरेपछि यो आक्रमण भएको हो ।“खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिँदै एउटा घर र एउटा पालमा इजरायली हवाई आक्रमणपछि बिहानै पाँच बालबालिका हित आठ जना शहीद भएका छन्”, नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भन्नुभयो । इजरायलले क्षेत्रभर आफ्नो हवाई बमबारी र भूमि आक्रमण फेरि सुरु गर्नुअघि गाजा पट्टीमा सापेक्षिक शान्ति ल्याएको नाजुक युद्धविराम मार्च १८ मा समाप्त भएको थियो ।आइतबारको हवाई आक्रमण मध्यस्थकर्ताहरू– इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले युद्धविरामको मध्यस्थता गर्न र गाजामा अझै पनि बन्दी बनाइएका इजरायली बन्धकहरूको रिहाइ सुरक्षित गर्ने प्रयासहरू जारी राखेका बेला भएको हो ।

हमासका एक वरिष्ठ अधिकारीले शनिबार उक्त समूहले मध्यस्थकर्ताहरूले अघि सारेको नयाँ युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको र इजरायललाई यसलाई समर्थन गर्न आग्रह गरेको बताए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ र इजरायलले प्रतिक्रियामा प्रति प्रस्ताव पेस गरेको बताएको छ । यद्यपि पछिल्लो मध्यस्थता प्रयासहरूको विवरण अज्ञात छ । गाजामा चलिरहेको युद्ध हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणबाट सुरु भएको थियो । यसको परिणामस्वरूप आधिकारिक इजरायली तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो । आक्रमणका क्रममा हमासका लडाकूहरूले दुई सय ५१ जना व्यक्तिलाई पनि अपहरण गरे । तीमध्ये ५८ जना कैदमा रहेका छन् र तिनमा पनि ३४ जना इजरायली सेनाले मृतक भएको बताएको छ । हमासको आक्रमणपछि प्यालेस्टिनी समूह विरुद्धको इजरायली सैन्य अभियानमा गाजामा कम्तीमा ५० हजार दुई सय ७७ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश नागरिक रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रासस/एएफपी)