२०८१ चैत्र १९ , बुधवार

इजरायली प्रधानमन्त्री नेतान्याहुले हङ्गेरीको भ्रमण गर्ने

Capture

सुनाखरी न्युज / काठमाडौं ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा भएको कथित युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पूर्जीको अवज्ञा गर्दै आगामी अप्रिल २ मा हङ्गेरीको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा नेतन्याहूले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र हङ्गेरीका अन्य वरिष्ठ अधिकारीसँग वार्ता गर्ने कार्यक्रम छ । गत वर्ष आइसिसीले पक्राउ पुर्जी जारी गरे पनि ओर्बानले नेतन्याहूलाई निमन्त्रणा दिनुभएको थियो । आइसिसीको निर्णयको एक दिनपछि गत नोभेम्बरमा नेतन्याहूले निमन्त्रणा दिने ‘नैतिक स्पष्टता’ देखाएकोमा ओर्बानलाई धन्यवाद दिनुभएको थियो । हङ्गेरीका प्रधानमन्त्री नेतन्याहूले आइसिसीको निर्णयलाई ‘लज्जास्पद’ कदम भन्दै निन्दा गरेको ओर्बानको पत्र नेतन्याहूको कार्यालयले सार्वजनिक गरेको थियो ।

गाजामा हमासविरुद्ध इजरायलको युद्धमा मानवताविरुद्धको अपराध र भोकमरीलगायत युद्ध अपराध गरेको आरोपमा आइसिसीले नेतन्याहू र पूर्व रक्षामन्त्री योआभ ग्यालेन्टविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलविरुद्ध गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो । हङ्गेरीले सन् १९९९ मा आइसिसीको स्थापना गर्ने अन्तर्राष्ट्रिय सन्धि रोम विधानमा हस्ताक्षर गरेको थियो र त्यसको दुई वर्षपछि ओर्बानको पहिलो कार्यकालमा यसलाई अनुमोदन गरेको थियो । बुडापेस्टले संवैधानिकताको कारण देखाउँदै सम्बन्धित महासन्धि जारी गरेको छैन र आईसीसीको निर्णयहरू पालना गर्न बाध्य छैन।

रासस/एएफपी