सुनाखरी न्युज / काठमाडौं ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले म्यानमारमा गएको विनाशकारी भूकम्प पीडितको सहयोगका लागि १० करोड अमेरिकी डलरभन्दा बढीको आपतकालीन सहायताका लागि आइतबार अपिल गरेको छ । विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल आईएफआरसीले शुक्रबार मध्य शहर मान्डले नजिकै गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा म्यान्मामा व्यापक क्षति पुगेको जनाइएको छ । आईएफआरसीले भनेको छ, “सहयोगका लागि आईएफआरसीले १० करोड स्विस फ्रान्क (एघार करोड ५० लाख) को आपतकालीन रकमको माग गर्दछ । उक्त रकम करिब २० हजार घरपरिवारका एक लाख व्यक्तिलाई आगामी २४ महिनाका लागि जीवन–बचत राहत र प्रारम्भिक उद्धार सहायताको लागि खर्च गरिनेछ ।” तापक्रम वृद्धि र केही हप्ताभित्र मनसुनको मौसम नजिकिँदै गरेकोले ‘गौण सङ्कट आउनुअघि’ प्रभावित समुदायलाई तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
“यो विपत्ति मात्र होइन”, आईएफआरसीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर माथेउले भन्नुभयो,“यो एक जटिल मानवीय सङ्कट हो।” म्यानमाले अझै पनि आन्तरिक विस्थापन र खाद्य असुरक्षाको सामना गरिरहेको छ। यो भूकम्पले पहिलेदेखिको कमजोर आर्थिक अस्थालाई झनै विकराल बनाएको छ । विश्व समुदायले साहसिक र दिगो प्रतिक्रियाका लागि सहायता गर्न अघि बढ्नुपर्छ । म्यान्मा रेडक्रस सोसाइटीले खोजी तथा उद्धार कार्य सुरु गर्नका लागि स्थानीय स्तरमा उपलब्ध तालिम प्राप्त स्वयंसेवक परिचालन गरेको विज्ञप्तिमा उल्लेख छ । स्वयंसेवकहरूले प्राथमिक उपचार गर्ने, अस्पतालपूर्व हेरचाह प्रदान गर्ने, कम्बल, त्रिपाल र हाइजिन किटजस्ता आपतकालीन राहत सामग्रीहरू वितरण गर्ने र घुम्ती स्वास्थ्य टोलीहरू तैनाथ गरिरहेका छन्।
रासस/एएफपी