सुनाखरी न्युज/ काठमाडौं ।
छेकी शेर्पा १९ वर्षकी भइन । उनी इलामको कच्ची सडकमा बोलेरो चलाउछिन । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छिन । त्यसो त बोलेरो चलाउने महिला नभएका हैनन । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुन ।
पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन । उनको बुवा पहिलेदेखि सवारी चालकको काम गर्दथे । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उँनी बताउछिन् । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले विस्तारै राम्रोसँग चलाउन थालिन्। छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउछन ।
“मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उनले भने । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन । उनले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने थालेकी छिन । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन ।
कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छिन । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उनले भनिन् । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छिन् छेकीले । जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उहाँको गाडी रोज्ने गरेको बताउँछन । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।”