सुनाखरी न्युज/ काठमाडौं ।
कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा आइतबार प्रदर्शन भएको छ । कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले प्राधिकरणमाथिको राजनीति बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।
११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।आफूलाई अवैधानिक तरीकाले हटाइएको भन्दै सरकारको त्यो निर्णयको विरुद्धमा घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको नाममा आह्वान भएको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत संघसंस्था सहभागी छन् । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले २२ चैतमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
रासस