२०८२ बैशाख ११ , बिहिवार

राप्रपाको प्रदर्शन आजः २ हजारभन्दा धेरै प्रहरी परिचालन गरिने

Police

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँको बल्खुमा विरोधसभाको आयोजना गर्दैछ ।

चैत १५ मा तीनकुनेमा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा सुरक्षा कमजोरी गरेको भनेर आलोचना खेपेको प्रहरीले मंगलबारको कार्यक्रममा चुस्तता कायम गर्ने रणनीति बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

बल्खुको सभामा मात्रै २ हजार भन्दा धेरै प्रहरी परिचालन गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरा भन्छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वहरूसँग पनि समन्वय गरिरहेका छौँ, उहाँहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुभएको छ ।’

बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने प्रहरीको रणनीति छ । बल्खु क्षेत्रमा परिचालित हुने सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको बिचमा ‘एकीकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय गरिएको छ । सोमबार साँझ बसेको तीनवटा सुरक्षा निकायका प्रमुखहरूको बैठकले सूचना तलसम्म सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने निर्णय गरेका हुन् ।