सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति डोनाल्ड ट्रम्प पदमा बस्न ‘योग्य नभएको’ भन्दै टेक्सासबाट हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) सदस्य अल ग्रीनले आगामी ३० दिनभित्र ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव संसदमा पेस गर्ने बताएका छन्।
अमेरिकामा गत हप्ता देशव्यापी रूपमा भएको ट्रम्प र इलन मस्क विरोधी प्रदर्शन ‘ह्याण्ड्स अफ’ लाई सम्बोधन गर्दै ग्रीनले उक्त कुरा गरेका हुन् । उक्त प्रदर्शनमा देशभर झन्डै ६ लाख नागरिक प्रदर्शनमा सहभागी भएका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
ग्रीनले वासिङ्टन डीसीमा ट्रम्पविरोधी प्रदर्शन ‘ह्याण्ड्स अफ’ लाई सम्बोधन गर्दै भने, ‘हामीलाई अहिले ट्रम्पलाई दोषी ठहर गर्न सक्ने सिनेट चाहिन्छ र म तपाईंहरूलाई मनैबाट भन्न चाहन्छु, उहाँ एक गोलियथ जस्तै हुनुहुन्छ। उहाँसँग सेनाका जनरलहरू, न्याय विभाग र रिपब्लिकन पार्टीको नियन्त्रण छ। तर मेरा साथीहरू, प्रत्येक गोलियथका लागि एक डेभिड हुन्छ।’
ग्रीनले उल्लेख गरेको गोलियथ बाइबलको एक कथा ‘डेभिड र गोलियथ’ का एक पात्र हुन्, जो साह्रै ठूलो, शक्तिशाली र डरलाग्दो योद्धा थिए जसलाई कसैले हराउन नसक्ने ठानिन्थ्यो । तर डेभिड नाम गरेका एक युवा गोठालोले ढुंगा प्रहार गरेर उसलाई हराएका थिए ।